h-shaw-UhOIDLhhIcI-unsplash
विचार / ब्लग

हिरो —————————-(कथा)

323 Views
Read Time:15 Minute, 4 Second

उसने तो एक मन्जिल छु लिया,

मैं तो बस युंही देखता रह गया ।

सपना तो मैने भी देखी थी ,

लेकिन नाजाने कबसे, मैं तो सोता ही रह गया ।……

हामी बुडाबुडीको कोरोना पोजिटिव निस्केपछि आज अस्पताल बसेको दोस्रो दिन, हिजैदेखि गिदीमा अनेक कुरा खेल्दै थिए । आज बिहानैदेखि भने हिरोलाई सम्झेर माथिको मुक्तक हिन्दीमा रच्न मन लाग्यो किनकि तिनको नामै ‘मन्जिल’, एक आगन्तुक हिन्दी शब्द । तिनी कुनै फिल्मी हिरो होइनन्, न कुनै प्रख्यात खेलाडी वा वैज्ञानिक । तिनी त वास्तविक जीवनको हिरो हुन्, मजस्तै सोंच भएकाहरुको प्रेरणादायी ‘हिरो’ । तर साँच्ची भन्दा म तिनीजस्तो सोंचवाला कहाँ हो र ? म त केवल तिनको फ्यान हुँ भन्दा हुन्छ बरु । सायद यो प्यान्डेमिक अवस्थामा क्वारेन्टाइनमा भएकोले होला मलाई अचेल मृत्यु त्यसै-त्यसै नजिकै छ जस्तो लाग्छ ।  अनि त्यही भएर, जीवनको पानाको ‘द इन्ड’ आउनुअघि एकपल्ट सरसर्ती अघिल्ला पानाहरुको रिवीजन गर्न मन लाग्यो ।

जीवनमा मैले पनि, आम मानिसले भन्दा केही फरक एउटा उम्दा सपना देखेको थिएँ । त्यो सपना युवावस्थादेखि नै आँखाभरी सजिएको थियो, होइन-होइन साँच्ची भन्दा त्यसको बिऊ त बाल्यावस्थामै रोपिएको थियो र पो त्यो युवावस्थामा आइपुग्दा ठूलै बोट भई झ्याङ्गियो । सानैदेखि विधवा आमाको संघर्ष हेर्दै गरिबीमा हुर्किएकोले होला, म त्यस्तै १२/१३ वर्षको थिएँ होला, त्यसैताका मलाई ठूलो भएर गरिबकै निम्ति केही गर्ने लालसा जाग्यो । त्यसको लागि के गर्ने, के नगर्ने टुंगो नलागेको बेलामा आफ्नै स्कूलको महान शिक्षक ‘सागर सर’को प्रेरणा पाएर एकदिन मैले सरजस्तै असल शिक्षक बन्छु  भन्ने सपना साँचें । त्यसपछि आफूभन्दा पनि गरिब बाल-बालिकाहरुको हालत देखें जो सामान्य सरकारी स्कूल पनि जान सक्दैन थिए । उनीहरुलाई आफ्ना आमाबासँगै खोला किनारमा कलिला हातहरुले गिट्टी फोडेको दृश्य देख्दा मेरो मन कटक्क दुखेको थियो। त्यसैबेला मैले सोंचें यिनीहरुलाई पनि सित्तैमा पढाउने एउटा स्कूलै खोल्न सके…|

तर बिचरा म, सोंचेको/देखेको सबै सपना पूरा भएन वा गर्ने सकिएन । त्यस्तो सपना पूरा गर्न त आँट चाहिन्छ, आँट जुन हिरोमा मात्र हुन्छ, मजस्तो लुरे त भीडको ‘रमिते’ मात्रै हो । संसारको आम मानिसझैं आफ्नै चक्करमा जिउने क्रममा मैले मेरो त्यो उम्दा सपनालाई साकार रुप दिन सकिनँ तर तिनले सके किनकि तिनले पहिले आफ्नो लक्ष्यलाई जोडसित पक्रेर भेट्टाए अनि बल्ल लक्ष्य-इतरका कुरा पनि सफलतापूर्वक हासिल गरे । मलाई थाहा त थियो, ‘प्रेम र परिवार’को चक्करमा पहिल्यै फँसियो भने सपना पूरा गर्न सकिन्न भन्ने कुरा तर नचाहँदा-नचाहँदै थाहै नपाई म यही चक्करमा फँसें । आफैलाई सम्हाल्दै ब्याचलर नै रहेर ब्याचलर्स पूरा गरें तर मास्टर्स फस्ट इयरमै लव पर्यो, लव मात्र हो र, प्रिमेरिटल रिलेसनसिप नै भयो जसले गर्दा मेरी उनी एक्सिडेन्टल्ली प्रेगनेन्ट भइन्, त्यसपछि विवाह, त्यसपछि सन्तान, अनि सन्तानको भविष्य, सन्तान हुर्किसकेपछि फेरि नातिको भविष्य, ओहो ! यो चक्रे दलदलबाट त उम्किनै नसकिने रहेछ । आखिर ‘वेडलक इज प्याडलक’ भन्ने अंग्रेजी उखान सोह्रै आना ठीक रहेछ, तर होइन यो मेरोलागि मात्र हो भन्दा हुन्छ । अमेरिकामा पढेर, ग्रेजुएट भएर अन्तमा आफ्नै गाउँ-ठाउँमा फर्किएर सेवा गर्छु भन्ने दृढ अठोट लिएर त्यसलाई साकार पारिछाड्ने तिनी साँच्चै नै नव-पुस्ताको लागि हिरो वा रोल मोडेल हुन् ।

‘हिलोमा मात्र कमलको फूल फ़ूल्छ्’ भन्थे तर खै मैले त उर्वर भूमिमै कमलको फूल फूलेको देखें । किनकि तिनी धनीको छोरो भइकन पनि गरिबको निम्ति जीवनभर बाँचे, बाँच्दै छन् पनि । अमेरिकी युनिवर्सिटीबाट ग्रेजुएट भएको मान्छे, तिनको लागि यतै राम्रो जागिर पक्का थियो तर तिनी धनको पछि लागेनन्, यदि लागेको भए मजस्तै ‘इनारको भ्यागुतो’ हुने थिए । तिनको त्यही अदभ्य साहसले गर्दा तिनले सफलता चुमे तर बिचरा म… ।

गाउँकै सरकारी स्कूलबाट एसएलसी पास हुनासाथ म उच्च शिक्षाको लागि सदरमुकाम झरें | एउटा दुलोजत्रो कोठा भाडामा लिएँ अनि नजिकैको बोर्डिंग स्कूलमा टिचिंग गर्दै आफू पनि पढ्दै गर्न थालें । बल्ल-तल्ल कमाएको थोरै तलबले आफूलाई खान-लाउन, कोठा भाडा तिर्न, कलेज खर्च टार्न र आमालाई अलिकति घर-खर्च पठाउन ठिक्क हुन्थ्यो । यसरी आफ्नै भुमरीमा ठिक्क हुँदा त सानैदेखिको सपना त त्यसै तुहिने पो हो कि झैं लाग्थ्यो कहिलेकाहीं तर मैले हिम्मत हारेको थिइनँ । महाकविको ‘प्रश्नोत्तर’ कविताको ‘उद्देश्य के लिनु ? उडी छुनू चन्द्र एक’  श्लोकले बेलाबेलामा झस्काइरहन्थ्यो र म आफैलाई ‘एकदिन चन्द्र छुने तेरो पनि समय आउँछ, न आत्तिई’ भन्दै ढाडस दिइरहन्थें | त्यस्तै क्रममा एकदिन ३ होकि ४ कक्षालाई पढाउँदा पाठ्यपुस्तकमा मैले ती हिरोको नाम पहिलोपल्ट देखें जसमा तिनले मेरोजस्तै उम्दा सपना देखेका मात्र होइन, पूरा गरेरै देखाएका सफलताको कथा लेखिएको थियो । वाह ! पाठ्यपुस्तकमा सधैं दिवंगत हस्तीका मात्र जीवनी देखिन्थ्यो तर त्यतिबेलादेखि जीवित हस्तीको जीवनी पनि समेटिएको देख्दा मलाई बडो खुशी लाग्यो । त्यसपछि मैले पनि तिनीजस्तै विदेश गएर, पढेर, कमाएर अनि अन्तमा आफ्नै गाउँ-ठाउँमा फर्केर सपनाको बिऊ रोप्छु भन्ने कल्पें । तर सोंचेजस्तो कहाँ हुन्छ र, आखिर ‘म ताक्छ मूढो, बन्चरो ताक्छ घुँडो’ भनेझैं भयो, के गर्नु त नि ! अमेरिकामा मास्टर डिग्री सक्नेबित्तिकै एकपल्ट आफ्नी जीवन-संगिनीलाई नेपाल फर्कौं अनि उतै आफ्नो सिप पोखौं’ के भनेको थिएँ, उनी त डाइनामाइट पड्केझैं पड्किन् । ‘त्यो अनकन्टार पाखामा म कुनै पनि हालतमा जान्नँ’ भन्दै अड्डी लिइन्, छोरोको भविष्य र क्यारियरको महत्व बढी भएको भन्दै मलाई लामो न लामो लेक्चर नै दिइन् । भन्न त मलाई पनि मन थियो, आफूले सानैदेखि देखेको त्यो उम्दा सपनाबारे, तर उनी मेरी पत्नी भएर पनि यसबारेमा मलाई कहिल्यै बुझिनन् वा भनुँ प्रयास नै गरिनन् । त्यसैले म त्यत्तिकै चुप लागें वा भनूँ आफ्नो सपनाको आफैले घाँटी निमोठी उनीसामु आत्मसमर्पण गरें । 

उता हाम्रो हिरोलाई हेरौं, तिनले गरिबलाई सित्तैमा पढ़ाइदिने स्कूल खोलेपछि त्यसको प्रचार-प्रसार एवं स्पोन्सरसिपको लागि विभिन्न देश पुग्ने क्रममा तिनको विशाल हृदयलाई बुझ्ने र सम्मान गर्ने एक फ्रेन्च सुन्दरी उनकी अर्धाङ्गिनी बन्न पुगिन् र अहिले उनी श्रीमानसँगै हातेमालो गर्दै सपनाको बारी गोडमेल गर्दै छिन् । आहा ! जीवनसाथी भनेको त यस्तो पो हुनुपर्छ जो मायाको बारीमा सँगै फूलेर आजीवन फक्रिरहन्छन् तर बिचरा म… । झल्याँस्स बुडीसँग दुईटा हीट हिन्दी फिल्म हेरेको सम्झें; ‘प्याडम्यान’ र ‘सुपर थर्टी’ । ती फिल्ममा हिरोले गरीबको मर्का बुझेर समाजमा ठूलो योगदान दिन्छन् । मलाई निकै घत पर्यो र त्यस फिल्मबारे अधिक जानकारी बटुल्न विकिपीडियामा खोजेपछि ती फिल्म त वास्तविक जीवनमै हिरोका वास्तविक कहानी नै रहेछन् भन्ने थाहा पाएँ । अनि मैले ‘इन्डियामाझैं नेपालमा पनि त्यस्तै वास्तविक हिरो भइदिए हुन्थ्यो, छ कि छैन होला ?’ भन्दै गम्दै जाँदा बल्ल ठ्याक्कै जवाफ पाएँ, ‘नेपालमा नि त्यस्तो हिरो छ नि, किन नहुने ? तिनी के त.… मन्जिल राना ।’ त्यसपछि मलाई कसैले तिनको पनि बायोपिक नै बनाइदिए हुन्थ्योजस्तो लाग्यो । आहा ! इन्टर-कल्चरल ट्रु रोमान्स समेटिएको तिनको बायोपिक पक्का हीट हुने कुरामा म ढुक्क छु । अब मेरो त समय सक्न आँट्यो, मैले नै यो बायोपिक नदेखेपनि भोलिको पुस्ताले बनाओस्/देखाओस्/देखोस् भन्ने मेरो अन्तिम इच्छा छ |

यसपछि मेरो त्यो सपना मरेपनि गहिरो निद्रामा देखिने सपनामा भने म जहिल्यै त्यही स्वपनील दुनियामा हुन्थें । त्यहाँ म हाम्रो दुर्गम लेकाली गाउँ ‘घ्याँसिखार्क’ मा पुगेको हुन्थें र त्यहीं धौलागिरीको मनोरम दृश्य देखिने एउटा चिटिक्कको होम्स्टे खोलेर व्यवसाय सुरु गर्थें अनि त्यसकै आम्दानीले गरिबका छोराछोरी पढ्ने एउटा स्कूल पनि खोल्थें । त्यस्तो सुन्दर सपना देख्दैमा मेरो ओंठमा मुस्कान छाउँथ्यो र झल्याँस्स ब्युँझदा बल्ल त्यो त सपना पो रहेछ भन्ने थाहा हुन्थ्यो च्वच्वच्व । मेरी अर्धांगिनीले त्यतिबेलै मलाई बुझेकी भए आजसम्मै म चुकचुकाउने थिइनँ होला तर हाय ! समय धेरै बितिसकेको यी सेताम्मे फुलेका केश र दाह्रीले बताइरहन्छन् ।

अहिलेसम्म त छोरा-बुहारी अनि चार वर्षको नातिसमेत भइसक्यो । उनीहरुको आफ्नै क्यारियर छ र अपार्टमेन्ट पनि । त्यसैले मलाई अब उनीहरुको भविष्यको कुनै चिन्ता छैन । म र मेरी बुडी बस्ने ठाउँदेखि पाँच मिनेटको दूरीमा छोरा-बुहारीको अपार्टमेन्ट छ, हरेक विकेन्डमा हामी सबै भेट्थ्यौं र सँगै लन्च-डीनर खान्थ्यौं तर कोरोना आतंक फ़ैलिएपछि यो क्रम पनि बन्द भयो । आफ़्नैलाई पनि भेट्न नहुने कस्तो जमाना आयो ? नजिकै भएर पनि वर्चुअल भेटमै चित्त बुझाउनुपर्ने कस्तो जमाना आयो ? मलाई मेरो नातिलाई जहिल्यै भेटमा च्वाप्प म्वाइ खान मन हुन्थ्यो तर अब वर्चुअल भेटमा ‘फ्लाइङ किस’ मात्र गर्नुपरेको छ । मलाईझैं मर्का मेरो अमेरिकन साथी ‘बिल स्पाक्स’लाई पनि पर्यो होला भनेर एकदिन सोधें, ‘हाई ड्यूड, डु यु मिस किसिङ एण्ड हगिङ योअ ग्राण्डसन नावाडेज ?’ अनि उसले तत्काल भन्यो, ‘ ओ या, आई मिस इट सो मच द्याट आइ थिङ्क आविल किस इवन अ फ़्रग , लोल ?’  हाहाहा ! उनको जवाफ सुनेर म खित्का छाडी हाँसें ।

कोरोनाले दुवै बुडाबुडीलाई च्याप्पै पारेर क्वारेन्टाइन-बास बसेको बेलामा सधैं व्यस्त रहने मलाई वर्षौंपछि फेरि आफ्नै टुटेको सपनाबारे याद दिलायो, याद दिलाएन मात्र कथमकदाचित मैले संसार छाड्नुपरिहाले पनि जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’झैं मर्नुअघि यो कथा छोडेर जान पाएँ जसलाई पढेर भावी पुस्ताले मेरो सपना पक्कै पूरा गर्नेछ भन्ने आशा लिएको छु । मृत्यु अपरिहार्य छ, ढिलोचाँडो अँगाल्नैपर्ने तर मलाई मृत्यु-भय छैन र हुनु पनि हुँदैन । म आफ्नो जीवनदेखि सन्तुष्ट छु र बाँचे पनि, मरेपनि नो रेग्रेट, इट्स अल गड्ज वील । तथापि, म मरेपनि मेरो देश चाहिं बाँचिरहोस्, हाँसिराहोस, बस् म यही चाहन्छु । जय नेपाल ।

(समाप्त) अरुणा छन्त्याल

1 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
2
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *