budka-damdinsuren-UZ4x1O4IXz4-unsplash
विचार / ब्लग

स्वतन्त्र——————–(कथा)

214 Views
Read Time:16 Minute, 58 Second

‘तिमीहरुले सत्यलाई चिन्नेछौ र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ । (यूहन्ना ८:३२)

सुरुमा सरसर्ती बाइबल पढ्दा यो वचन त्यति राम्ररी बुझेकी थिइनँ, सतही पारामा मात्र बुझेकी थिएँ किनकि म, मेरो परिवार प्रभुमा आएदेखि नै स्वतन्त्र भएको थियो । केबाट स्वतन्त्र भन्दा ‘धामी-झाँक्रीका अनेक टन्टादेखि’ स्वतन्त्र ।

पहिलोपल्ट चर्च जाँदा एकदम नौलो र रोमान्चक अनुभूति भयो । झल्याँस्स सम्झें, अर्को हप्ता ठ्याक्क शनिबार मेरो पीरियड़ सुरु हुने दिन, जसरी पहिले मलाई पीरियड़मा देउताको अगाडि पर्नु मनाही थियो, सोंचें- ‘यहाँ पनि पक्कै त्यस्तै होला’ र बीचमा भजन-किर्तन चलेकै बेला छेवैकी एउटी दिदीलाई सोध्न मन लाग्यो, उहाँको कानैमा मुख लगेर सोधें-‘दिदी ! पन्छेको बेलामा चर्च आउन मिल्दैन होला है ?’ मेरो प्रश्न सुनेर दिदी मुसुक्क मुस्कुराउनुभयो अनि भन्नुभयो- ‘मिल्छ नानु, प्रभुको दृष्टिमा कोही पनि अशुद्ध हुँदैन’ । आहा ! मलाई कस्तो स्वतन्त्र आभाष भयो भने यो कुरा गएर म सबै समुदायकी छोरीहरुलाई सुनाइदिऊँझैं भयो । झट्ट मलाई मेरी दुई साथीको याद आयो, एउटी ब्राह्मण समुदायकी र अर्की नेवार समुदायकी । एकपल्ट स्कूलमा खाली पिरियडमा यसकै बारेमा कुरा गरिरहँदा मैले बल्ल मेरा साथीहरुको समुदायमा यस्तो बेलामा छोरीहरुलाई झन अछुतसरह व्यवहार गरिँदो रहेछ भन्ने थाहा पाएँ ।

अलग्ग एउटा छुट्टै कोठामा एक हप्ता सम्म बस्नुपर्छ रे अनि बाबा र दाजु-भाइको मुख हेर्नुहुन्न रे | ‘आँइ हो र ? त्यसोभए अनि स्कूल नि ? स्कूल आउन हुन्छ त ?’ भनी सोध्दा ‘पहिले-पहिले बाहिर पटक्कै निस्कन पाइँदैन थियो रे तर पछि स्कूल चाहिं जान पाइने भयो रे’ भन्ने जवाफ पाएँ । अझ पहिलोपल्ट रजस्वला हुँदा चाहिं उनीहरुलाई ११ दिनसम्म एउटा शुन्य कोठामा अलग्गै राखेको सुन्दा म चुक्चुकाएँ किनकि मेरो समुदायमा त्यसरी छेकथुन गरिंदैन । म पहिलोचोटी रजस्वला हुँदा आमाले बाहेक परिवारमा अरु कसैले पनि थाहा पाएन, तर उनीहरुको चलन-अनुसार अलग्गै बस्दा सबैले थाहा पाउँछन्  |

काँचै उमेरको काँचो दिमाग भएपनि मैले भनें- ‘यस्तो चलन त राम्रो होइन । हामी छोरी मान्छेलाई झन् हेप्ने चलन हो यो त । किन तिमीहरुलाई यसको विरोध गर्न मन लाग्दैन ?’

बिनाले भनिन्- ‘लाग्न त लाग्छ नि तर के गर्नु ? पूर्खादेखिको चलन !’  तर नमुले भनिन्- ‘मलाई त यसको विरोध गर्न जरुरी छैनजस्तो लाग्छ ।’ छक्क पर्दै मैले सोधें- ‘किन ?’ अनि उनले खितिती हाँस्दै भनिन्- ‘आ ! त्यसबेला किचेनमा काम गर्नुपर्दैन, झन् हाइसन्चो हुन्छ, सुतेर बसे नि भो, पढेर बसे नि भो ।’ मलाई धेरैजनाको यस्तै सोंच भएकोले यस्तो चलनले निरन्तरता पाएको हो भन्ने लाग्यो । तर अचम्म के भने एउटै देशवासी भएपनि हाम्रो समुदायको चलन चाहिं एकदम फरक थियो र छ पनि । हाम्रोमा अलग्गै कोठामा बस्नुपर्दैन थियो अनि पूजाकोठा वा तुलसीको मठछेउ मात्र जान मनाही थियो, बाँकी सब कुरामा स्वतन्त्र थियौं । बिस्तारै-बिस्तारै जब म ठूली हुँदै गएँ अनि नारीवादलाई राम्ररी बुझ्न थालें, त्यसपछि मलाई के-केमा नारीहरु दमित छन् भनेर अझ बढी गहिरिएर केलाउन मन लाग्यो । केलाउँदै जाँदा हाम्रै समुदायमा पनि विभिन्न कुरा वर्जित गरिएको थाहा पाएँ । जस्तै खेतबारीको बोट-बिरुवा छुन नहुने (छोयो भने मर्छन् रे), दुहुनो गाई-भैंसी छुन नहुने (छोयो भने कि मर्छन्, कि बिरामी पर्छन्, कि दूध दिन छाड्छन् रे) तर तिनै गाई-भैंसीलाई घाँस काटेर दिन चाहिं हुने रे अनि वनबाट दाउरा काटेर ल्याउन चाहिं हुने रे, कस्तो वाहियात् । यी यावत कुरा गाउँले परिवेशमा हुर्किएकी माइलीले भन्दा मलाई बडो अनौठो लाग्यो र सोधें,

‘अनि तिमीले नछुने भाको बेलामा भैसीलाई छोएनौ त ?’

‘आ ! मैले त छोइदिएँ नि !’

‘अनि भैंसी मर्यो त ?’

‘हाहाहा काँ  मर्नु… फटहा कुरा हो सब…हाम्रो काली (भैंसी)लाई घाँस हाल्दै गर्दा मैले त्यसको गाला मुसारेन भने कस्तरी ‘बाँ.…’ भन्दै कराउँथी, म त मन थाम्न सक्थिन, आमाले नदेख्ने गरी मुसरिदिन्थें । एकचोटी आमाले देखीचन, अब मलाई दाउराले हिर्काउलिन् भनेको त, हतार-हतार पाती  टिपेर चोखो अमखोरामा पानी लिएर पातीले आफ्नो कानको रिङ छुँदै अमखोराको पानीमा चोपल्दै भैंसीमा, आफूमा जताततै छर्किन थालिन्, के गरेको ? भन्दा सुन-पानी छर्केको रे, नछुनेले छोइछिटो गर्यो भने त्यसरी सुनपानी छर्केर चोख्याउने रहेछन् । हाहाहा ऐया, मलाई त भित्रभित्रै हाँसो उठेथ्यो तर आमा रिसाउलिन् भनेर त्यत्तिकै ओंठ टोकेर बसें । है ? काँहीं नभा चलन हाँडीगाउँमा !’

‘त्यही त नि ! तर जे होस्, हाम्रो चलनमा बाहुन-क्षेत्रीका छोरीहरुले जस्तो गरी धेरै बार्नुपर्दैन, हाम्रो त ठीकै छ भनम तर तिमीलाई थाहा छ ? सुदूरपश्चिमका गाउँहरुमा झन् ‘छाउपडी भन्ने चलन छ, नछुने भाको छोरीलाई एक्लै घरदेखि पर जंगल नजिकै छाउगोठ बनाएर राखिदिन्छन् अनि त्यहीं बस्नुपर्ने रे, त्यो पनि ३ दिन होइन, १४/१५ दिन रे ।’

‘आम्मै ! हो र ? आबुई ! हामीलाई एक्लै त घरमै नि कस्तो डर लाग्छ, तिनीहरुलाई कस्तो भा होला है ? बिचरीहरु च्वच्व्च्व ।’

त्यसपछि मैले उनलाई छाउपडी प्रथाको नालीबेली सुनाएँ;  असफल छाउपडीविरुद्धका अभियानहरु र छाउगोठमा भएका बलात्कारका घटनाका इतिवृत्तान्तहरु । ती सब सुनेपछि उनी साह्रो आत्तिइन्,

‘ओहो यस्तो नराम्रो चलन हाम्रो नेपालमा रै’छ है, के गर्ने त ? जति नै अभियान चलाए नि के काम तिनीहरुको दिमागमा देवता रिसाउला र विपत्ति पर्ला भन्ने डर हुन्छ, त्यहीभ’र पूर्खाको चलन छोड्न सक्दैनन् बाबै ।’

नछुने हुँदा छोइछिटो  गर्यो भने देवता रिसाउने कुरो चाहिं मलाई फेरि बिझ्यो, उनले अझै भनिन्;

‘हैन यी देवता भनाउँदा पनि कस्ता रीसाहा होलान् है ? हाम्रो प्राकृतिक गुणलाई पनि घृणा गर्ने ? आखिर देउतीनीहरु पनि पन्छिन्छन् क्यारे तर हामीलाई मात्र के के जाति नियम रे । हामीहरु नपन्छिए  त यो संसारै चल्दैन बाबै ।’

उनले यसो भनिरहँदा म सोंचमग्न भएँ, हो त नारीहरुमा यो गुण नभएको भए सन्तानोत्पादन प्रक्रिया नै हुने थिएन अनि संसारमा मानव-अस्तित्व उहिल्यै लोप भइसक्थ्यो, एकछिन रोकेर उनले फेरि थपिन्,

‘उ: किस्नेको साइँली फुपूलाई त्यही भएर कसैले ब्या गरेन केरे, बिचरी फुपू, अहिलेसम्म एक्लै बूढी-कन्ये नै छिन् ।’

उनले यसो भन्दा मेरो सोंच पनि यतै मोडियो । कृष्ण (किस्ने) हाम्री कान्छी छेमाको छोरो हो, हाम्रो भाइ पर्यो, उसकी साँहिली फुपूबारे पहिलोपल्ट एकदिन मैले आमाकै मुखबाट सुनेकी थिएँ । पहिलोपल्ट रजस्वला भएदेखि मेरो मनमा अनेक कुरा खेल्न थालेका थिए, यस्तो अप्ठयारो बेहोर्नुपर्ने रहेछ र त छोरी भएर जन्मिनुभन्दा छोरो भएर जन्मिनु बेस भनिने रहेछ भन्ने लाग्यो, त्यसपछि म आफूलाई छोरो भएर जन्मेको हावा कल्पना गर्न थालें । फेरि त्यही हावा कल्पनामा बहँदाबहँदै मलाई छोरो भएर जन्मिन पनि मन लागेन । एकाएक छोरी नै भएर जन्मिने तर पन्छिन नपरे कस्तो हुन्थ्यो होला ?’ भन्ने सोंचें (हाहाहा, गिदी पनि कस्तो के मेरो !) । ‘धत् उल्लू ! त्यस्तो पनि काहीं हुन्छ ?’ भनेर आफैंदेखि हाँसो उठ्यो । तर म साह्रै जिज्ञासु जो परें, यो कुरा आमालाई सोध्न मन लाग्यो र एकदिन सुटुक्क सोधें, ‘ममी, छोरी भएपनि कहिल्यै नपन्छिने कोही हुन्छ कि नाइँ ?’ आमाले कत्ति पनि नहाँसिकन त्यतिखेरै भन्नुभयो,

‘अँ त्यस्तो हुन्छ नि कसैलाई, किन नहुने? त्यो किस्नेको साइँली फुपू त्यस्तै भाकोले त कसैले ब्या गरेन नि ।’

प्रकृतिले सिर्जेको यस्तो अपवाद पनि हुँदो रहेछ भन्नेकुरा मैले त्यतिबेलै जानेकी थिएँ, अहिले फ़ेरि माइलीको मुखबाट तिनकै कुरा सुन्दा म एकछिन सोंचमग्न भएँ । ती फुपूलाई नि:सन्देह आम नारीलाई जस्तो प्रेम, विवाह र सन्तानको रहर पक्कै थियो होला, पक्कै पनि सन्तानलाई गर्भदेखि काखमा बोकेर दूध चुसाउँदै मातृत्वको अनुभूति लिन मन थियो होला तर प्रकृतिले नै तिनको रहर कहिल्यै पूरा हुन दिएन । गाउँमा मेलापात गर्दा तिनी हिंड्ने गोरेटोमा गाउँकै अल्लारे केटाहरु पनि परेछन् भने अलि परैबाट ती केटाहरु फरक्क फर्किन्थे रे, ‘बाटैमा थारो भैंसी आउँदै छ, सावधान है केटा हो, हान्ला है !’ भनी मरीमरी हाँस्दै एक-अर्कालाई सतर्क पार्थे रे, त्यसै…। समाजले त नारीलाई हेप्यो-हेप्यो तर प्रकृतिले पनि हेपेको एउटा जीवित उदाहरण भेटिंदा म अवाक् रहें ।

फेरि मनको अर्को आवाजले भन्यो, ‘होइन, नारीलाई हेप्ने पीडक प्रकृतिभन्दा यो समाज हो जसले उनीहरु रजस्वला हुँदा छोइयो भने रिसाउने देउतालाई पुज्छ, त्यसैले रिसाउँछ, त्यस्सै रिसाउँछ । तब म गम्थें, ‘यस्तो कुनै देउता भए हुन्थ्यो जसले रजस्वला भएकी स्त्रीलाई स्नेहले स्विकारोस् अनि बल्ल ती देउता रिसाउने भयले छाउगोठ बस्न बाध्य छोरीहरु पनि स्वतन्त्र हुने थिए ।’ अनि ‘त्यस्तो देउता होला त काहीं ?’ भनेर मेरो मनले त्यतिबेलैदेखि खोजिरहेको थियो जुन खोज धेरै वर्षपछि अनेक बाधा-व्यवधानको सामना गर्दै, अनेक हण्डर र ठक्कर खाएपछि बल्ल पूरा भयो । अर्थात् ख्रीष्ट येशुमा आएपछि बल्ल पूरा भयो ।

सुरुमा नयाँ करार बाइबल हात पर्नासाथ के-के लेखिएको रहेछ भन्ने कौतुहलतासाथ पढ्दै गएँ । एउटा घटना पढेपछि मलाई मेरो मनले खोजेको देउता यी नै रहेछन् भन्ने तत्वज्ञान भयो अर्थात् भनूँ न ‘मैले ‘ढुंगा खोज्दा ठ्याक्कै देउता’ भेटें । एकदिन जब येशु आफ्ना चेलाहरुसहित भीडबीच भएर जाँदै हुनुहुन्थ्यो, त्यसबेला पछिल्तिरबाट एकजना बाह्र वर्षदेखि रक्तस्रावबाट पीडित स्त्रीले उहाँको लुगाको एक छेऊ छोइन् किनकि तिनले ‘मैले प्रभुको लुगाको छेऊ मात्र छोएपनि म निको हुन्छु’ भन्ने सोंचिन् । अनि साँच्चै नै तिनी प्रभुको लुगाको छेऊ छुनासाथ निको भइहालिन् । त्यतिबेलै आफ़ूबाट शक्ति बगेको थाहा पाएर येशु त्यहीं टक्क अडिनुभयो अनि भीडतर्फ फर्किएर सोध्नुभयो, ‘कसले मलाई छोयो ?’ चेलाहरुले ‘प्रभु ! भीडले  तपाइलाई ठेलिरहेको छ र तपाई किन ‘मलाई कसले छोयो भन्दै हुनुहुन्छ ?’ भनेर भने । तब फेरि येशुले भन्नुभयो, ‘होइन मलाई कसैले छोएकै हो किनकि मबाट शक्ति गएको मैले थाहा गरेको छु ।’ उहाँले यस्तो भन्नुभएको सुनेपछि ती स्त्री डराई-डराई सबैको सामुन्ने आइन् र सबैलाई आफ्नो बाह्र वर्ष पुरानो रक्तस्रावको व्यथा प्रभुको लुगाको छेऊ छोएर निको भईन् भन्ने कुरा बताइन् र प्रभुले खुशी भएर तिनलाई झन् आशिष दिएर पठाउनुभयो । वाह ! रक्तस्रावको कारण देखाई स्त्रीलाई अशुद्ध र अछुत मानेको हाम्रो हिन्दु देउताहरुभन्दा येशु यसैकारण महान हुनुभयो किनकि उहाँले त्यस्ती स्त्री असुद्ध वा अछुत हुँदिन भन्ने कुरा सबैका सामु खुल्लमखुल्ला बताउनुभयो । त्यस स्त्रीले आफ्नो स्पर्श गुप्तमै राख्न खोजेकी थिई तर प्रभुले सबैका सामू प्रकट गरी समाज-परिवर्तनको घोषणा गर्नुभयो । वाह ! यो कुरा घामझैं छर्लंग भएपछि म खुशीले गद्गद् भएँ र प्रभुमा ढिलोचाँडो भएपनि आएकोमा आफूलाई भाग्यमानी ठानें ।

यसर्थ, येशुको यो सुसमाचार म ती सुदुरपश्चिमका छाउपडी प्रथा व्याप्त सबै गाउँहरुमा पुगोस् भन्ने चाहन्छु ताकि अबदेखि उसो त्यहाँका चेलीहरु रजस्वलामा छुँदा रिसाउने देउता भनाउँदोको भयबाट स्वतन्त्र हुन सकुन् र त्यो छाउपडी इतिहास बन्न सकोस् अनि यसका कारण उत्पन्न हुने नारी अस्मिता हरणका दुर्घटनाहरु निमिट्यान्न होउन् ।

तसर्थ म भन्छु, दुष्ट पुरुषका दुष्ट आँखादेखि चेलीहरुलाई खासमा कसले रक्षा गर्न सक्छ ?  -हाम्रा एकमात्र प्रभु येशुले सक्नुहुन्छ, किनकि उहाँमा नै वास्तविक रक्षा र स्वतन्त्रता छ, आमेन !!!

अरुणा छन्त्याल

2 0
Happy
Happy
1
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *