matt-botsford-OKLqGsCT8qs-unsplash
विचार / ब्लग

आवाज—————(कथा)

220 Views
Read Time:15 Minute, 57 Second

प्रभुमा सपरिवार आएदेखि मैले भेटेका आफन्त-साथी सबैलाई धेरथोर सुसमाचार  सुनाउने बानी परिसकेको थियो र त्यसैले म वा मेरो परिवारको सम्पर्कमा आउनेजति सबैले सुसमाचार सुन्ने मौका पाएका थिए । बिदामा गाउँ गएको बेलामा पनि म सकेसम्म सबैलाई प्रभुबारे सुनाउँथें किनकि मैले पाएको मुक्तिको निश्चयता अरुले पनि पाउन् भन्ने म चाहन्थें, अझ भनूँ न; प्रभुले दिनुभएको महान आज्ञालाई सरासर शिरोपर गर्नु म पनि आफ्नो कर्तब्य ठान्थें तर झुमाकी बज्यैलाई देख्दा चाहिं मलाई आफू अझै पनि असमर्थ छु झैं लाग्थ्यो वा भनूँ न, बाइबलमा असल छिमेकीको दृष्टान्तमा बाटोमा घाइतेलाई देखेर जानी-जानी तर्किजाने शास्त्री-फरिसीझैं लाग्थ्यो कहिलेकाहीं आफैंलाई । त्यसैले मलाई यस्तो पनि लाग्छ, हामी संसारलाई जतिसुकै सुसमाचार सुनाऔं तर यदि झुमाकी बज्यैजस्ताहरुलाई सुसमाचार सुनाउन सक्दैनौं भने हामी सब एक-से-एक बेकम्मा हौँ भन्दा हुन्छ । म सोंच्छु, सायद प्रभुको दोस्रो आगमनको निम्ति पुग्नुपर्ने अन्याजातिको संख्यामा अलिकति झुमाकी बज्यैजस्ताहरुको गन्ति पक्कै छ तर उनीहरुको आत्मा बचाउने खेतालाहरु यहाँ एकदम थोरै छन् । येशुले ‘फसलका प्रभुलाई खेतालाहरु पठाइदिन बिन्ती गर’ भन्नुभयो, त्यसैले मैले विशेष ती बज्येजस्ताहरुको निम्ति खेताला पठाइदिन बिन्ती गरें । अनि त्यस्तै विशेष खेताला हुन प्रभुबाट मलाई पनि बोलावट भएको छ भन्ने आभाष भएको छ ।

त्यसैले सांकेतिक भाषा सिक्दैछु ताकि आवाजहीनहरुको आवाज बनी उनीहरुलाई पनि मुक्तिको संदेश प्रचार गर्न सकूँ । झुमाकी बज्यैलाई पहिलोपल्ट देख्दा मलाई कुनै अनौठो कुरो देखेजस्तो भएको थियो किनकि मैले कहिल्यै उहाँजस्तो बहिरा व्यक्तिलाई नजिकबाट देखेकी थिइनँ । अझ अपांगताको बावजुद पनि उहाँको आफ्नै सन्तानको दोस्रो पुस्तासम्म देख्दा मलाई झनै अनौठो लाग्यो। मैले पहिले सुनेको मात्र थिएँ वा फिल्ममा देखेकी थिएँ, बहिरा व्यक्तिहरुको विवाह र सन्तान पनि भएको कुरा तर साँच्चैको देख्दाचाहिं त्यसै-त्यसै अनौठो लाग्दोरहेछ । जिज्ञासावश, मैले झुमालाई एकदिन सोधें, ‘झुमा ! तिमीलाई तिम्रो बज्यैको विवाह कसरी भयो भन्ने कुरा थाहा छ ?’ मलाई उनका बाजे त यस संसारमा छैनन् भन्ने थाहा थियो । झुमाले भनेअनुसार उनको बाजे त सामान्य कान सुन्न सक्ने व्यक्ति नै थिए रे जो झुमाकी आमा सानै हुँदा परलोक गए रे । तर मलाई कुन्नि किन झुमाको कुराले चित्त बुझेन र त्यसैले आफ्नै आमालाई तिनको बाजेको बारेमा सोधें,

‘तिनले कसरी बज्यैलाई बिहे गरे होलान् ?  तिनको परिवारले बज्यैलाई हेपे कि नाइँ होला ?’ आदि इत्यादि । यो सुनेपछि आमाले भंन्नुभयो, ‘त्यो बाजे को हो ? कस्तो थियो वा छ ? भन्ने कसैलाई थाहा छैन खास !’

मलाई अचम्म लाग्यो अनि ‘आइँ हो र ममी ? किन नि त्यस्तो ?’ भनेर मैले गहिराई जान्न चाहें ।  त्यसपछि बल्ल वास्तविक कहानी बुझें अनि यो पनि बुझें किन झुमा यसबारे अझै अनभिज्ञ छिन् भन्ने कुरा पनि । तर होइन, झुमालाई पनि वास्तविकता थाहा छ होला तर थाहा भएपनि नभएझैं गरेकी होलिन् वा आफूले सानो छँदाखेरिकै कुरा दोहोर्याएकी होलिन् भन्ने मैले अनुमान लगाएँ किनकि यो वास्तविकता गाउँमा सबैलाई थाहा नै भएपनि सहरिया आगन्तुकहरुलाई जस्ताको तस्तै बताइरहनुपर्ने आवस्यकता छैन । आखिर म पनि त सहरमै जन्मे-हुर्केकी आगन्तुकझैं परें, त्यसैले झुमा मसँग पनि खुल्न नसकेकी होझैं लाग्यो । उनलाई सायद म पनि कसैको गोप्य कुरा पायो भने अरुहरुसित गफ़िएर कुरा काट्ने कुरौटेनी हुँला  भन्ने लाग्यो होला, त्यसैले हामी मिल्ने साथी भएपनि उनले मलाई यो वास्तविकता चाहिं भनिनन् वा भन्न सकिनन् । उनलाई के थाहा, प्रभुमा समर्पित व्यक्तिहरुले अरुको कुरा (नकारात्मक किसिमले) काट्दैनन् भन्ने कुरा ! तसर्थ, उनलाई बुझेर नै मैले यो वास्तविकता थाहा भएपनि उनैलाई चाहिं नसोध्ने निर्णय लिएँ किनकि जुन कुराले मानिसको मनमा चोट पुग्छ वा पुरानो खाटा उप्किन्छ, त्यो कुरा गर्दै गर्नुहुन्न भन्ने कुरा मैले प्रभुबाट सिकेकी छु ।

त्यो वास्तविकता के भने झुमाकी बज्यै बलात्कार पिडित हुनुहुँदोरहेछ । त्यो पापी नजिककै कोही हुन पनि सक्छ र त्यसले उहाँलाई फकाई-फुस्लाई यौन-तृप्ति लिएको हुन पनि सक्छ । अझ उहाँ अनपढ र बहिरो भएकोले नै त्यो दुष्टले सजिलै फसाएको हो भन्दा हुन्छ किनकि बोल्न-सुन्न नसक्ने अनि लेख्न पनि नसक्नेले आफू पीडित भएपनि कसरी अरुलाई पीडकको नाम बताउन सक्छ र ? शिक्षा उहाँहरुजस्तालाई झन् धेरै खाँचो छ, त्यसैले त्यही शिक्षाको ज्योति चम्काउन सांकेतिक भाषा सिक्दैछु र आशा छ, एकदिन मैले उहाँलाई सांकेतिक भाषाकै मदतले शिक्षाको ज्योतिले पनि छुन सक्नेछु, अनि त्यसपछि छुनैपर्ने/सुनाउनैपर्ने प्रभुको सुसमाचारले आत्मा बचाउनेछु।

तै म परमेश्वरलाई धन्यवाद दिन्छु किनकि ती बज्यै सुन्न नसक्ने भएकैले समाजको टोक्सो सहनैपरेन।  समाजमा यदि कुनै युवतीले अविवाहित अवस्थामा नै गर्भ बोकिन् भने तिनले के-कस्तो लाञ्छना, घृणा, तिरस्कार र अन्यायको सामना गर्नुपर्छ भन्ने कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो तर ती बज्यैले यी सबको सामना गर्नैपरेन । समाजले घृणा त पक्कै गर्थ्यो होला तर ज-जसले जे भनेपनि कानले नै नसुनेपछि व्यक्तिको मनमा चोट पुग्दैन, त्यसैले बज्यैको मन पनि कहिल्यै दुखेन । यदि दुख्दो हो त अविवाहित छँदै भुँडी बोकेपछि समाजको तिरस्कार सहन नसकेर आत्महत्या गर्ने आम चेलीहरुको नियति यता पनि दोहोरिन्थ्यो होला तर उहाँ छेवैमा आफ्नै कुरा काटेपनि थाहा नपाउने र मुसुमुसु हाँसिरहने स्वभावकी जो हुनुहुन्थ्यो, त्यसैले उहाँलाई यो कुरौटे समाजको तुच्छ व्यवहारले पटक्कै छोएन, अहँ छुँदै छोएन । ”यदि अरुले आफ्नो बारेमा नराम्रो कुरा गर्छ भने त्यसलाई नसुनेकोझैं गर्नू वा एउटा कानले सुनेर अर्कोले उडाइदिनू’ भन्ने एउटा नैतिक संदेश छ जसले हामीलाई जटील परिस्थितिमा पनि संयमित भएर जिउन सिकाउँछ र यस्तै पाठ प्रभु येशुले पनि सिकाउनुहुन्छ तर चाहँदा-चाहँदै पनि हामी यसो गरिरहन सक्दैनौं । हाम्रो स्वभाव आदमदेखिकै पापी स्वभाव भएको कारण हामीलाई हाम्रो भित्री घमण्डले हम्मेसी त्यसो गर्न दिंदैन, ‘ए त्यसले मलाई त्यस्तो भन्ने ?’ ‘ए, के-रे, म यस्तो रे ? म उस्तो रे ?…’आदि यस्ता कुरा अरुले भनेको सुनेर नै हाम्रो मनमा खीलजस्तै गडेर अन्तमा हाम्रै गिदी खाइरहन्छ र हामी बेचैन भइरहन्छौं । फलस्वरूप, एक-अर्काप्रति वैमनस्यता र कलह उत्पन्न हुन्छ तर यी सबदेखि दूर रहन सकेकोले मलाई कान नसुन्ने हुनु बज्यैको निम्ति (अभिशाप नै भएपनि) वरदान पनि भएजस्तो लाग्यो ।

खान मन नगर्ने, बिरामी भएर सुतेको सुत्यै गर्नेक्रम धेरै दिनसम्म चलेपछि बल्ल छोरीलाई स्वास्थ्य-चौकी लग्दा त छोरीको पेटमा गर्भ रहेको थाहा हुन आयो । त्यसपछि यो खबर परिवार हुँदै गाउँभरि फैलियो र अन्तमा बाउ पत्ता लगाउन कचहरी बसियो । आमा, दिदी-बहिनी, आफन्त सबैले तिनलाई आफूले जानेजत्तिको प्राकृतिक सांकेतिक भाषाबाट ‘तँलाई पेट बोकाएको मान्छे को हो ?’ भनेर सोधे तर तिनले मरिगए बुझे पो वा बुझे पनि खालि दुवै हत्केला फर्काउँदै ओंठ र आँखा पनि पल्टाउने गर्थिन् रे । बिहानदेखि साँझसम्मै कचहरी बस्दा पनि बाउ पत्ता लागेन र अन्तमा युवतीका अभिभावकले ‘जोसुकैले हाम्री छोरीलाई पाप बोकाएको भएपनि हाम्री छोरीको दोष छैन, त्यो पापीले उसको कमजोरीको फाइदा उठायो तर छोरीलाई दोष नदेओ । छोरीको गर्भको सन्तान हामी नै पाल्छौं’ भनेपछि बल्ल कचहरी टुंगियो । कुरा काट्न त समाजले पक्कै काट्यो होला नि तर आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउला भनेर निर्दोष छोरीलाई त्यागिदिने तुच्छ व्यवहार तिनका अभिभावकले देखाएनन् । हो उहाँहरुबाट यो समाजले पाठ सिक्नुपर्छ कि यौन-हिंसा पीडितलाई बहिष्कार होइन सप्रेम आश्रय दिनुपर्छ भन्ने कुरा । सामान्य साक्षर मात्र भएर पनि समाजका शिक्षित तर आडम्बरी अभिभावकहरुलाई पनि माथ दिनसक्ने ती अभिभावकलाई सलाम !

समय पूरा भएपछि युवतीले छोरी जन्माइन् । नानी जन्माएपछि नानी भोकले रुँदा ती युवतीले (नसुन्ने भएकोले) चाल पाउँदिनथिन् तर उनकी आमाले नानीलाई रोएको बेलामा उठाएर युवतीको स्तननेर नानीलाई राखिदिन्थिन्  | अनि ईशाराले नानीलाई दूध चुसाउन भन्थिन् । यसरी ती नानी हुर्किंदै गइन् जसकी छोरी ‘झुमा’ मेरी बालसखा हुन् । आफ्नी आमाबाट यतिसम्म सुन्दा मलाई अचम्म लाग्यो र त्यतिखेरै मैले सोंचें कि उहाँले पनि परमेश्वरलाई चिन्नैपर्छ | झुमाकी आमाले आफ्नी आमालाई कति धेरै माया गर्छिन् र ती बज्यैलाई आफूलाई भुँडी बोकाएर बेवारिसे छोड्ने पुरुषप्रति घृणा जागेपनि छोरीको असीम प्रेम र सामिप्यता पाउन सकेकोमा सायद कृतज्ञ पनि भइन् होला ।

यसरी ती बज्यैको कहानी नातिनी पुस्तासम्मै आशिषित रहेको देखेर मैले उहाँको जीवनमा पनि परमेश्वरको उदेकको करुणा भएको निर्क्यौल गरें । यो कहानी यतिमै सकियो होला भन्ठानेकी थिएँ तर होइन आमासित फेरि अर्को दिन बज्येकै कुरा गर्दा फेरि अर्को कथाको पेटारी फुक्यो जहाँ पनि पहिलेजस्तै विस्मात थियो नै तर त्यसको अन्त पनि हर्षमा नै भयो ।

कुरा के भने, झुमाकी आमा १०/११ वर्षकी हुँदा ती बज्यै फेरि गर्भवती भइन् अनि फेरि कसले भुँडी बोकायो भनेर केरकार गर्न लामो कचहरी बसियो । त्यसबीचमा जिम्मेवार व्यक्ति आफ्नो कसुर स्वीकार्दै आफै अगाडी सर्यो । तिनी गाउँकै एकजना विवाहित पुरुष थिए । अझ गज्जबको कुरो के भने ती पुरुषले आफ्नै श्रीमतीको मिलोमतोमा नै त्यसो गरेका रहेछन् । कारण के रहेछ भने ती दम्पति निसन्तान रहेछन्  र सन्तानको आशामा गुप्तमै सम्बन्ध राखिएको रहेछ (सायद अपांग स्त्रीलाई गर्भ नबसे नबेहोर्ने तर गर्भ बसे बेहोर्ने भन्ने तिनीहरुको पूर्वयोजना थियो) । त्यसैले बज्यैलाई ती दुई दम्पतीले आफ्नै घरमा राख्ने र गर्भको सन्तानलाई पनि हुर्काउने मन्जुर गरी कचहरी टुंगियो । अहिले त त्यो गर्भको शिशु जवान भइसक्यो र दुईटी आमा (ती बज्यै र उहाँको सौता) को मायामा हाँसी-खुशी बाँचिरहेको छ । झुमाले ‘मामा’ भनी सम्बोधन गर्ने त्यो जवान युवकको जन्म-प्रसंगले पनि यस्तो गम्भीर कहानी बोकेको कुरा थाहा पाउँदा मलाई उदेक लाग्यो । अझ झन् ऊदेक त उहाँको जीवनमा पनि परमेश्वरको आशिष देखेर पो लाग्यो किनकि परमेश्वरको कृपाको कारण नै ती अबला बज्यैको जीवनको दुर्भाग्य सौभाग्यमा परिणत भयो भन्दा अतिशयोक्ति नहोला ।

त्यसैले मेरो रहर यो छ कि उहाँलाई र उहाँजस्तै अरुहरुलाई पनि सुसमाचार सुनाउने एउटा नौलो आवाज बन्न चाहन्छु जुन आवाज औंलाका सांकेतिक चालहरुमा गुञ्जिन्छ र यही आवाज गुञ्जाउनमा परमेश्वरले मलाई सफलता दिउन् भनी प्रार्थना गर्दछु । आमेन ! अरुणा छन्त्याल

त्यस्ताहरुको पक्षमा आवाज उठाऊ, जसले आफ्नो पक्षमा आवाज उठाउन सक्दैनन् । (हितोपदेश ३१:८)’

(समाप्त)

1 0
Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleppy
Sleppy
0
Angry
Angry
0
Surprise
Surprise
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *